जनकपुरधाम, ४ भदौ । गुठी संस्थानको जग्गा विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल बार एसोसिएशन जनकपुरधामबीच सहमति भएको छ ।

मधेश प्रदेशका पत्रकार महासंघ अध्यक्ष श्यामप्रसाद बन्जारा र बारका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेको सहमति अनुसार पत्रकार महासंघले गुठी संस्थानबाट लिएको चार कट्ठा जग्गामध्ये केही भाग बारलाई दिने सहमति गरिएको हो ।

उक्त जग्गा २० वर्षका लागि वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा लिजमा रहेको छ । दुवै पक्षले लिजको अधीनमा रहेर आपसी सहमतिका आधारमा जग्गाको उपयोग गर्ने र दुई दिनभित्र आपसी कानुनी मुद्दा फिर्ता लिने वा निष्क्रिय गर्ने र साथै सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री पोष्ट नगर्ने सहमति गरेका छन् ।

यता, दुबै संस्थाबिच भएको सहमतिको विज्ञप्ति सार्वजनिक भएपछि केही पत्रकारहरूले यसलाई अपमानजनक सहमति भनेका छन् । पत्रकार सुभाष कर्णले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकार र वकिलबीचको विवादमा महासंघले गरेको निर्णय आपत्तिजनक छ ।’

मधेश प्रदेश परिषद् सदस्य रञ्जन भण्डारीले पनि यसलाई लज्जास्पद सम्झौता भनेका छन् । महासंघको कार्यसमितिमा विश्वास गुम्ने अवस्था आएको उनले टिप्पणी गरेका छन् । पत्रकार कमलेश ठाकुरले सम्झौतामा जग्गाको विवरण अस्पष्ट भएको, घाइते पत्रकारको पक्षमा सहज समाधान खोज्ने प्रयास नगरिएको आरोप लगाएका छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सचिव हदिश खुद्दारले सहमतिलाई गलत अर्थ नलगाउन सबैसँग आग्रह गरेका छन् । उनका अनुसार महासंघले आफ्नो संस्थागत हितलाई प्राथमिकतामा राख्दै नेपाल बार एसोसिएशनसँग पार्किङ प्रयोजनका लागि मात्र सब–लिज सहमति गरेको हो ।

उनले भने, ‘कसैको आत्मसम्मानमा आँच पुग्ने गरी कुनै सम्झौता गरिएको छैन । भविष्यमा पत्रकारहरूको साझा आवश्यकताका लागि बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना राखिएको छ ।’