प्रदेश सरकारको मापदण्ड पालना नगर्ने उद्योगीलाई कारबाहीको चेतावनी

जनकपुरधाम, ४ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इट्टा उत्पादनमा प्रदेशको योगदान अत्यधिक रहेको बताएका छन् ।
नेपाल इट्टा उद्योग महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा उखु, आँप, माछा र धानजस्ता कृषि उत्पादन जस्तै इट्टा उद्योगमा पनि प्रदेश अग्रणी रहेको जानकारी दिए ।
मुख्यमन्त्री सिंहका अनुसार मुलुकभर करिब १३ सय इट्टा उद्योग रहेकोमा मधेश प्रदेशमा ७ सय उद्योग छन् भने तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा छन् । उनले प्रदेशको योगदान संघीय सरकारसम्म पुग्दा पनि बजेट उपलब्ध हुन नसकेको गुनासो गर्दै स्थानीय तहलाई प्रदेश सरकारको भागको कर बुझाउन आग्रह गरे ।
सिंहले भने, ‘निकासी, पैठारी, खोला र मनोरञ्जन जस्ता करबाट उठेको रकमको ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्ने हो । तर, धेरै पालिकाले यो अनुपातमा योगदान नगरेको पाइन्छ । यसमा सुधार आवश्यक छ ।’
मुख्यमन्त्री सिंहले इट्टा उद्योगीहरुलाई पनि प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने औंल्याए । उनले उद्योग सञ्चालनको गुणस्तर र सुरक्षा मापदण्ड पालना नगरेको खण्डमा कानुनी कारबाही हुन सक्ने चेतावनी पनि दिएका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेशका उद्योगी र स्थानीय तहबीच सहकार्यमा आर्थिक विकास र रोजगार सृजना गर्ने योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन समारोह महासंघका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान र अन्य वक्ताहरूले आ–आफ्ना धारणा राख्दै उद्योग विकास, करको उचित व्यवस्थापन र प्रदेशको आर्थिक वृद्धि सुनिश्चित गर्ने विषयमा विचार व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


