जनकपुरधाम, ३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले गौर हत्याकाण्डबारे अनुसन्धान अघि बढाउन परमादेश दिएपछि जनकपुरधाममा चक्काजामसहित विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको जनक चोकमा जसपाका नेता तथा कार्यकर्ताले सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सदस्य रामअशिष यादवले सर्वोच्च अदालतको आदेशलाई मधेश आन्दोलनबाट हासिल भएका उपलब्धीहरूलाई कमजोर पार्ने उद्देश्यका साथ आएको आरोप लगाए । उनले भने, ‘संघीयता, समावेशिता, भाषिक अधिकार जस्ता उपलब्धीहरूमाथि आक्रमण गर्न कांग्रेस र एमालेजस्ता नश्लीय दलहरूको इशारामा अदालतले यस्तो परमादेश दिएको हो ।’

यादवले अदालतको निर्णयलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै आदेश फिर्ता नभएसम्म आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिए । ‘मधेशसहित नेपालभर आन्दोलनको आँधी आउँछ,’ उनले भने, ‘उपेन्द्र यादवलाई फसाउने प्रयासमा गरिएको षड्यन्त्रलाई हामी सफल हुन दिदैनौं ।’

सर्वोच्च अदालतले सोमबार १९ वर्षअघि २०६३ साल चैत ७ गते भएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश दिएको हो । सो घटनामा तत्कालीन मधेश आन्दोलनमा संलग्न नेता तथा कार्यकर्ताबीचको झडपमा २७ जनाको ज्यान गएको थियो ।

जसपाका स्थानीय नेताहरूले अदालतको आदेशलाई मधेस आन्दोलनको इतिहास र उपेन्द्र यादवको भूमिकामाथि प्रहारको रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार गौर घटनालाई राजनीतिक घटनाक्रम र तत्कालीन माओवादीका हिंसात्मक गतिविधिको उपजका रूपमा बुझ्नुपर्ने हो । तर, अहिले यसलाई व्यक्तिगत आरोपमा परिणत गर्ने प्रयास भइरहेको छ ।

विरोधमा सहभागी कार्यकर्ताले ‘निर्दोषलाई फसाउन पाइदैन’, ‘राज्यसत्ताको दुरुपयोग बन्द गर’, ‘गौर घटना षड्यन्त्र हो’ भन्ने नारासहित प्रदर्शन गरेका थिए ।

जनकपुरधाममा गरिएको चक्का जामका कारण पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरूलाई असुविधा भएको प्रहरीले जनाएको छ । तर, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएपछि केही घण्टामै सडक सुचारु भएको थियो ।