भूमिगत पानीको संकट कम गर्न चुरे क्षेत्रमा स्थलगत अवलोकन

जनकपुरधाम, ३ भदौ । तराईमा बढ्दो भूमिगत पानीको संकट समाधानका लागि धनुषाको मिथिला नगरपालिकाभित्र पर्ने चुरे क्षेत्रको स्थलगत अवलोकन गरिएको छ ।
मङ्गलबार नगरका जनप्रतिनिधि र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाइ ढल्केवरको प्राविधिक टोलीले औहरी र बसही खोलाको मुहान क्षेत्रसम्म पुगेर पानी संकलन तथा पुनःभरणका उपायको प्रारम्भिक अध्ययन गरेको हो ।
कार्यान्वयन एकाइका प्रमुख प्रेमीप्रसाद साहले भने, ‘यस वर्ष लामो खडेरीका कारण भूमिगत पानीको सतह निकै तल झरेको छ । चापाकल, इनार र ट्युबवेलमा पानी आउन छाडेको छ । चुरे क्षेत्रमा चेक ड्यामलगायत संरचना निर्माण गर्न सकिए भूमिगत पानीको भण्डारण बढ्नेछ र सिँचाइ समस्या पनि कम हुनेछ ।’
नगरप्रमुख महेन्द्र महतोले भने, ‘चुरेबाट बग्ने खोलामा चेक ड्याम निर्माण गरेर खेर जाने पानीलाई जमिनमुनि पुनःभरण गर्न सकियो भने पानी संकट धेरै हदसम्म समाधान हुनेछ । यसका लागि नगरपालिकाले आवश्यक सहयोग पुर्याउनेछ ।’
प्राविधिक रामईश्वर साहका अनुसार प्रारम्भिक रूपमा औरही खोलामा चार र बसही खोलामा दुई स्थानलाई चेक ड्याम निर्माणका लागि उपयुक्त मानिएको छ । उनले थप अध्ययनपछि भौगोलिक तथा प्राविधिक हिसाबले सबैभन्दा उपयुक्त स्थानमा ड्याम निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए ।
प्राविधिक साहले भने, ‘वर्षाको पानीलाई चुरे क्षेत्रमा रोक्नैपर्ने विकल्प बाहेक छैन । यसरी रोकिएको पानी जमिनमुनि पुनःभरण भएर भूमिगत भण्डारण बढ्नेछ र तराईमा पानी संकट घट्नेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


