मुख्यमन्त्री सिंहद्वारा उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण

जनकपुरधाम, ३ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने अभियान अघि बढाएको बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले विद्यार्थी, शिक्षक, अभिभावक र सम्बन्धित निकाय सबै मिलेर शिक्षा सुधारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्रालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीका स्थानीय तहबाट यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १५० विद्यार्थीलाई साइकल वितरण गरेको थियो । साइकल नेपाल एसबीआई बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रदान गरिएको हो ।
मुख्यमन्त्री सिंहले शिक्षाको गुणस्तरमा निरन्तर गिरावट देखिएको भए पनि कठिन परिस्थितिमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीले प्रदेशको शैक्षिक भविष्य उज्यालो बनाउने विश्वास दिलाएको बताए । उनले विद्यार्थीहरूलाई राष्ट्र निर्माण र समृद्धिमा योगदान दिने जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै भने, ‘देशलाई कसरी अघि बढाउने जिम्मेवारी यही पुस्ताको काँधमा आउनेछ ।’
सिंहले विगतमा मधेश प्रदेशको शिक्षा प्रणालीले छुट्टै पहिचान बनाएको स्मरण गर्दै त्यो गौरव पुनःस्थापित गर्न योजना अनुसार कार्य अघि बढाउने बताए । उनले लोक सेवा आयोगमार्फत महिला उम्मेदवारलाई ५० प्रतिशत आरक्षणको व्यवस्था रहेको भए पनि आवेदनको कमी देखिएको बताउँदै महिला सहभागिता बढाउन सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।
साइकल वितरण कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षता रहेको थियो । भारतको महावाणिज्य दूतावास वीरगंजका प्रमुख देवी सहाय मिना, नीति तथा योजना आयोग सदस्य डा. शिला मिश्रा, शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
शिक्षा मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामका अनुसार पाँच जिल्लाका स्थानीय तहबाट सिफारिस भएका १५० विद्यार्थीले साइकल प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


