जनकपुरधाम, ३ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा बढ्दो जनसंख्या र सवारी साधनको चाप व्यवस्थापन गर्न बहुप्रतिक्षित बाह्य चक्रपथको निर्माण सुरु भएको छ ।

संघीय सरकारको आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले २५ वटै वडालाई जोड्ने गरी ४२ फिट चौडा कालोपत्रे सडक र सात फिट चौडा पक्की नहरसहित गुणस्तरीय चक्रपथ निर्माण थालेको हो ।

सर्वसाधारणले साँघुरो सडकका कारण लामो समयदेखि भोग्दै आएका आवतजावत, मालसामान ढुवानी र दैनिक आवागमनका समस्या समाधान गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा माटो पुर्ने र सडक सम्याउने काम तीब्र गतिमा भइरहेको डिभिजनल इन्जिनियर दारोगा प्रसादले जानकारी दिए ।

३२ किलोमिटर लामो बाह्य चक्रपथ निर्माणका लागि पहिलो चरणमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सम्पूर्ण आयोजना सम्पन्न गर्न कम्तीमा ७ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले सरकारले तत्काल बजेट व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठ र पूर्वमन्त्री जुलीकुमारी महतोद्वारा एक विशेष समारोहबीच शिलान्यास गरिएको यो आयोजना सम्पन्न भएपछि जनकपुरधामको शहरीकरण र जीवनस्तर उकासिने विश्वास गरिएको छ ।

निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुने, मालसामान ढुवानीमा सुविधा पुग्ने, किसानले सिंचाइका लागि नहर प्रणाली उपयोग गर्न सक्ने र वर्षायाममा जल जमाव, हिलो, धूलो तथा सवारी आवागमनको समस्या घट्ने अनुमान गरिएको छ ।

डिभिजनल इन्जिनियर प्रसादका अनुसार गुणस्तरीय, छिटो र पारदर्शी काम सम्पन्न गर्न कार्यालयले सबै सरोकारवालासँग सहकार्य गरिरहेको छ । तर, लो बिडिङ र पूँजी क्षमताहीन निर्माण कम्पनीलाई ठेक्का पाउने प्रचलनका कारण गुणस्तरमा कमी आउने देखिएको र यसका लागि खरिद ऐनमा संशोधनको आवश्यकता रहेको उनको भनाइ छ ।