जनकपुरधाम, ३ भदौ । मधेश प्रदेशमा पहिलो पटक युवा नीति तर्जुमा सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा भएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमको अध्यक्षता मन्त्रालयका प्रदेश सचिव रञ्जित कुमार यादवले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री प्रमोद जयसवालले युवा नीति छिट्टै फास्ट ट्रयाकबाट पारित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सर्वपक्षीय छलफलबाट सबै जिल्लाका युवाको आवाज नीति निर्माणमा समेटिने जानकारी दिए ।

मधेश प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद नइम राईनले कार्यक्रमलाई ऐतिहासिक उपलब्धि भएको बताए । ‘यो हाम्रो निरन्तर आन्दोलन र समर्पणको परिणाम हो,’ उनले भने ।

नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. सोहन साहले प्रदेशको मुख्य अर्थतन्त्र कृषि भएकाले युवा नीति र कार्यक्रमले रोजगारीलाई कृषिसँग जोड्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा जुरी नेपालका कृष्ण जिवी घिमिरे र गुञ्जन रायले प्रारम्भिक रूपरेखा प्रस्तुत गरेका थिए । सहभागी युवाहरूले शिक्षा, रोजगारी, स्वास्थ्य, खेलकुद, कृषि, उद्यमशीलता, लैङ्गिक समानता र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेशका उच्च अधिकारी, सामाजिक अभियन्ता, युवा प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

युवा नीति परामर्श कार्यक्रमले प्रदेशका युवाहरूको सशक्त सहभागिता सुनिश्चित गर्दै नीति निर्माण प्रक्रियामा उनीहरूको आवाज समेट्ने अवसर प्रदान गरेको छ ।