गौर घटनामा अनुसन्धान आदेशपछि मधेशमा जसपाको आक्रोश

जनकपुरधाम, २ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान गर्न आदेश दिएपछि पार्टीका कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।
सोमबार जनकपुरधामको रामानन्द चौकमा आयोजित विरोध प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा सहभागी भएका थिए । प्रदर्शनकारीहरूले ‘उपेन्द्र यादवमाथि राजनीतिक षड्यन्त्र बन्द गर’, ‘लोकतन्त्रविरुद्धको आदेश फिर्ता होस्’ जस्ता नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागी नेताहरूले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक पूर्वाग्रहपूर्ण र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कदम भएको टिप्पणी गरे । उनीहरूले यादवलाई फसाउन खोजिएको भन्दै अनुसन्धान प्रक्रिया तत्काल खारेज गर्न माग गरे । जसपाका स्थानीय नेताहरूले चेतावनी दिंदै भने, ‘यदि हाम्रो माग सम्बोधन भएन भने थप कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिनेछ ।’
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । सो घटनाका प्रमुख अभियुक्तका रुपमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादवको नाम पुनः अनुसन्धान सूचीमा राखिएको हो ।
जसपाका कार्यकर्ताहरूले यो कदमलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन् । पार्टी नेतृत्वले समेत सर्वोच्चको आदेशप्रति असहमति जनाउँदै न्यायालयबाट न्याय नभई पूर्वाग्रहपूर्ण निर्णय आएको आरोप लगाएको छ ।
विरोध प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि कार्यकर्ताहरूले आगामी दिनमा आन्दोलनलाई थप तीव्र पार्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


