सप्तरी, २ भदौ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा घोंघी टिप्ने क्रममा खाल्डोमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।

स्थानीय सीतापुरकी ७२ वर्षीया सजनी सदाको सोमबार बिहान खेतमा खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । मृतक सदा लालु सदाकी श्रीमती रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुग्दा सदा पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी गाउँकै जर्मन पोखरी छेउमा रहेको स्थानीय राजेन्द्र साहको खेतमा घोंघी टिप्ने क्रममा खाल्डोमा डुबेकी हुन् । गाउँपालिका–२ का वडाध्यक्ष पशुपतिप्रसाद चौधरीले मृतक सजनी सदा दैनिकजसो जर्मन पोखरी र आसपासका खाल्डाखुल्डीमा घोंघी टिप्ने गरेको र सोही क्रममा दुर्घटना भएको अनुमान गरिएको बताए ।

घटनापछि स्थानीय बासिन्दा र प्रहरीको उपस्थितिमा मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।