बारा, २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २८ गते वडा कार्यालयमै भएको शिक्षक कुटपिट घटनामा उनी संलग्न रहेको प्रमाण फेला परेपछि आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार वडाध्यक्ष कुशवाहाले मदिरा सेवनपछि करिब आठ जनाको समूहसहित स्थानीय शिक्षक नागेश्वर कुमार यादवलाई कुटपिट गरेका थिए । घटनापछि पीडित यादवले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार फरार रहेका वडाध्यक्षलाई प्रहरीले पछ्याइरहेको बेला नियन्त्रणमा लिइएको हो ।

‘घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ । दोषी कोही पनि उम्कन पाउने छैन,’ एसपी तामाङले भने ।

वडाध्यक्ष कुशवाहा विगतमा समेत कानुन उल्लंघनमा संलग्न हुँदै आएका छन् । बारा जिल्ला अदालतले उनीमाथि कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी छुट्टाछुट्टै मुद्दामा सजाय तोकेको थियो । अदालतले कुटपिटमा दुई हजार, चेक अनादरमा तीन हजार र आपराधिक लाभमा एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश सुनाएको थियो । तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।

जेठ ११ गते पनि एकपटक पक्राउ परेपछि कानुनी प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर, कुशवाहा फेरि पनि सक्रिय राजनीतिमा देखिन थालेपछि स्थानीय स्तरमै उनको गतिविधि विवादमा पर्न थालेको हो ।