राजु साह एनआरएनए एनसिसि अमेरिका बोर्ड अफ डाइरेक्टरमा विजयी

अमेरिका, २ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि अमेरिकाको सोमबार सम्पन्न निर्वाचनमा राजु साह बोर्ड अफ डाइरेक्टर पदमा विजयी भएका छन् । उनले २०२५–२०२७ कार्यकालका लागि निर्वाचित हुँदै नेपाली समुदायबीच नयाँ उत्साह र आशा जगाएका हुन् ।
साहको विजयीलाई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले व्यापक रूपमा स्वागत गरेका छन् । उनी विजयी भएलगत्तै टुडेआवाजलाई आफ्नो पहिलो प्रतिक्रिया दिँदै भने, ‘यो केवल मेरो जित मात्र नभई यो सम्पूर्ण नेपाली समुदायको जित हो । अब एनआरएनएलाई गुटगत सीमाबाट मुक्त गर्दै साझा संस्था बनाउने समय आएको छ ।’
उनले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा प्रस्तुत गरेको ‘सशक्त, पारदर्शी र सहभागी नेतृत्व’ को खाका विजयी भएपछि अझ चर्चामा आएको छ । साहले एनआरएनएलाई केही व्यक्तिको नेतृत्वमा मात्र सीमित नराखी सम्पूर्ण विश्वभरका नेपालीहरूको साझा पहिचानको संस्थामा रूपान्तरण गर्ने प्रतिज्ञा दोर्होयाए ।
साहले विशेषगरी अग्रज, महिला, युवा र समुदायप्रेमी नेपालीलाई लक्षित गर्दै गरेको अपीलले चुनावी यात्रामा निर्णायक सहयोग पुगेको देखिन्छ । ‘तपाईंहरूको सुझाव, समर्थन र विश्वासले मलाई हौसला दिएको छ । अब म एनआरएनएलाई उत्तरदायी, पारदर्शी र सबैको संस्थामा परिणत गर्न पूरा प्रयास गर्नेछु,’ उनले भने ।
उनले हाल एनआरएनएभित्र देखिएको गुटबन्दी र नेतृत्वमा सीमितताबारे पनि खुलेर बोल्दै अब ‘एकता विकल्प नभई आवश्यकता’ भएको टिप्पणी गरे ।
साहको विजयसँगै नेपाली डायस्पोराको पहिचान संरक्षण, सामाजिक समावेशीकरण र समृद्धिको साझा उद्देश्यसहित अघि बढ्ने उनको प्रतिबद्धताले आगामी दिनमा संगठनलाई सबल बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
उनले निर्वाचनपछि पुनः एकता र पारदर्शितामै जोड दिँदै भने, ‘एनआरएनए अब पदको आकांक्षा नभई साझा सपना पूरा गर्ने थलो बन्नेछ । यसका लागि सबै नेपालीको आवाज र सहभागिता अपरिहार्य हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


