बारको दाबी ‘अन्यायपूर्ण’ : नगरप्रमुख साह

जनकपुरधाम, २ भदौ । जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले नेपाल पत्रकार महासंघ मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा नेपाल बार एसोसिएसनले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा आपत्ति जनाएका छन् ।
पत्रकार महासंघको टोलीसँग सोमबार भएको भेटमा मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गर्दै भने, ‘पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको हो । बार एसोसिएसनसँग आफ्नै भवन हुँदाहुँदै उनीहरूले अवरोध गर्नु कुनै हिसाबले न्यायसंगत छैन ।’
मेयर साहले बार एसोसिएसनले माटो भरेको दाबी झुटो भएको पनि स्पष्ट पारे । उनले सो ठाउँमा विगतमा गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माण भइरहेको बेला मात्र निर्माण व्यवसायीले माटो भण्डारण गरेको बताए ।
उनले थपे, ‘यस्ता गतिविधिले समाजमा विद्वान् अधिवक्ताहरूको छविमा नकारात्मक प्रभाव परेको छ र न्याय सम्पादन गर्ने पेसाप्रतिको विश्वासमा प्रश्न उठेको छ । वार्ता र संवादमार्फत समाधान खोजिनु आवश्यक छ । दोषीमाथि कारबाही हुनुपर्छ ।’
भेटमा पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, सचिव हदीस खुदार, सदस्य नवीन मिश्र, नवीन सिंह, प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस चौतारीका केन्द्रीय सदस्य इन्दिप कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव अजित तिवारी लगायतका प्रतिनिधिहरू उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


