जनकपुरधाम, १ भदौ । गुठी संस्थानसँग सम्झौता अनुसार लिएको जग्गालाई लिएर उत्पन्न विवादपछि पत्रकारहरूमाथि भएको सांघातिक आक्रमणका दोषीलाई अहिलेसम्म पक्राउ नगरेपछि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् ।

दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरुले आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म शान्तिपूर्ण धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले केन्द्रीय गुठी संस्थानसँग विधिसम्मत रुपमा सम्झौता गरी ४ कठ्ठा जग्गा लिजमा लिएको छ । तर, उक्त जग्गा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै नेपाल बार एसोसिएशन जनकपुरका केही वकिलले बखेडा सिर्जना गरेका छन् ।

सम्झौताका आधारमा निर्माणको प्रक्रिया अगाडि बढाइरहेका बेला गत साउन २७ गते ती वकिलहरूले विवाद निम्त्याउँदै पत्रकारहरूमाथि एकाएक आक्रमण गरेका थिए । सो घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए ।

घटनापछि पत्रकार महासंघले दोषी पहिचान गरी किटानी जाहेरी दिएपनि स्थानीय प्रशासनले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै पत्रकार समुदाय आक्रोशित बनेको छ ।

धर्नामा सहभागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले दोषीलाई संरक्षण गर्ने कार्य प्रशासनबाट भइरहेको आरोप लगाउँदै भने, ‘हाम्रा साथीहरू घाइते भए, हामीले किटानी जाहेरी दिँदा पनि प्रहरीले कुनै कारबाही गरेन । हामी धर्नामा बस्न बाध्य भयौं । माग पूरा भएन भने थप कडा आन्दोलन गर्छौं ।’

त्यस्तै, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराले शान्तिपूर्ण आन्दोलनद्वारा दबाब सिर्जना गर्नु परेको उल्लेख गर्दै भने, ‘देशव्यापी आन्दोलन नहोस्, अवस्था उग्र नहोस् भनेर हामीले अहिलेसम्म संयमता अपनाएका हौं । तर, प्रशासनको भूमिका अलोकतान्त्रिक हुँदै गयो भने हामी चुप लागेर बस्दैनौं ।’

पत्रकार महासंघले यो धर्ना पहिलो चरणको दबाबमूलक कार्यक्रमको रुपमा रहेको जनाएको छ । दोषी पक्राउ नगरिए थप चरणबद्ध आन्दोलनको घोषणा गर्ने तयारी भएको अध्यक्ष साहले बताए ।