जनकपुरधाम, ३१ साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एक कर्मचारी आफ्नै कामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका ४० वर्षीय भोला मेस्तर अस्पतालको प्रस्तुति वार्ड पछाडि रहेको लन्ड्री रूममा मृत अवस्थामा भेटिएका हुन् । अस्पताल स्रोतका अनुसार उनी फलामको पाइपमा प्लास्टिकको डोरीको सहायताले झुन्डिएका थिए ।

सोही लन्ड्री कक्षमा कार्यरत धनुषाको सबैला नगरपालिका–१ पटेर्वाका मुकेश यादवले भोला मेस्तर झुन्डिएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रादेशिक अस्पतालका अधिकारीहरूले मृतक कर्मचारीको मृत्युको कारणबारे प्रारम्भिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । घटनाको सही कारण पत्ता लगाउन प्रहरी अनुसन्धान जारी रहेको छ ।