जनकपुरधाम, ३१ साउन । मधेश प्रदेशमा आत्महत्याका घटनाहरू निरन्तर बढिरहेको देखिएको छ । प्रदेशका आठै जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा १ हजार २५३ वटा आत्महत्याका घटना भएका छन् । प्रहरी कार्यालय जनकपुरधामका तथ्याङ्कअनुसार तीमध्ये महिलाको संख्या ४७५ र पुरुषको ४६७ रहेको छ । बालबालिकामध्ये बालिकाको संख्या बढी देखिएको छ । ६५ बालक र २४६ बालिकाले आत्महत्याको बाटो रोजेका थिए ।

गत आर्थिक वर्ष २०८०/८१ सँग तुलना गर्दा आत्महत्याका घटनामा सानो कमी आएको भए पनि स्थिति अझै गम्भीर छ । अघिल्लो वर्ष १ हजार २७८ घटना भएका थिए । त्यसमा पुरुष ५४०, महिला ४७०, बालक ६७ र बालिका २०१ थिए । यस वर्ष पुरुष र बालक गरी ६०७, महिला र बालिका गरी ६७१ जनाले आत्महत्यामा सामेल भएको तथ्याङ्कले देखाउँछ ।

प्रहरी अनुसन्धानअनुसार किशोरीहरूले परीक्षामा असफलता, प्रेम सम्बन्धमा धोका (हनी ट्र्याप), घरायसी झगडा र मानसिक डिप्रेसन जस्ता कारणले आत्महत्याको बाटो रोज्ने गरेको पत्ता लागेको छ । सामान्य घरेलु विवाद, मोबाइल प्रयोगमा रोक, गेम खेल्न नदिने जस्ता मामिलाले पनि युवती र किशोरीलाई तनावपूर्ण परिस्थितिमा पुर्याउने गरेको देखिएको छ ।

महिलामा घरेलु हिंसा, कम दाइजो ल्याएको, पतिबाट कुटपिट, पति अन्य महिला सम्बन्धमा रहेको थाहा पाएपछि आत्महत्याको घटना बढी देखिएको छ । मनोविज्ञानका प्राध्यापक रामनरेश दासका अनुसार आत्महत्याको घटनालाई न्यूनीकरण गर्न तत्काल, मध्यम र दीर्घकालीन उपाय आवश्यक छन् ।

उनले भने, ‘सबैभन्दा पहिले सङ्कटमा परेका व्यक्तिलाई २४/७ सञ्चालन हुने हेल्पलाइन सेवा र आकस्मिक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउनुपर्छ । स्वास्थ्य संस्था र समुदायस्तरमा प्रशिक्षित परामर्शदाता उपलब्ध गराएर मानसिक सहयोग सहज बनाउनु आवश्यक छ ।’

प्राध्यापक दासले परिवार, विद्यालय र समुदायलाई सचेत रहनुपर्ने सुझाव दिए । किशोरी र महिलालाई समयमै मनोवैज्ञानिक सहायता उपलब्ध गराउने, सामाजिक सञ्जाल र मोबाइलको प्रयोगमा उचित निगरानी राख्ने र पारिवारिक परामर्शमार्फत तनाव कम गर्न सकिने बताइएको छ ।

मधेश प्रदेशमा आत्महत्याका घटनाहरू झुन्डिएर, विषपान गरेर वा अन्य माध्यमबाट हुने गरेका छन् । यी घटनालाई रोक्न राज्य र स्थानीय निकायले जनचेतनामूलक कार्यक्रम, विद्यालयमा मनोवैज्ञानिक शिक्षण, हेल्पलाइन सेवा र समुदायस्तरमा नियमित परामर्श उपलब्ध गराउनुपर्ने देखिन्छ ।