मधेशमा करेन्ट लागेर ज्यान जाने घटनामा वृद्धि

जनकपुरधाम, ३१ साउन । मधेश प्रदेशमा विद्युतिय सुरक्षामा असावधानीका कारण करेन्ट लागेर मृत्यु हुने घटनाहरू बढ्दै गएको छ ।
स्थानीय र सरकारी तथ्याङ्क अनुसार करेन्टका अधिकांश सिकार किसान नै छन् । विशेष गरी सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्दा असावधानी देखिँदा खेतमै ज्यान गुमाउने घटना बढेको छ ।
प्रदेशका आठै जिल्लामा धान खेती हुने समयमा पर्याप्त पानी नपर्दा वा वर्षा नहुँदा किसानहरू बोरिङ, नहर, कुलो, पैनी, पोखरी वा नदीबाट पानी तान्न मोटर प्रयोग गर्न बाध्य हुन्छन् । त्यस्तै, घरमा चापाकलको लागि जडान गरिएको मोटरबाट पनि करेन्ट लागेर मृत्यु हुने घटनाहरू देखिएका छन् ।
साउन महिनामात्रै हेर्ने हो भने करेन्ट लागेर थुप्रै जनाको मृत्यु भइसकेको छ । साउन २३ गते धनुषा धनुषाधाम–३ का ४५ वर्षीय शिवजी मण्डलको खेतमा सिँचाइको क्रममा करेन्ट लागेर मृत्यु भएको छ भने सोही दिन सप्तरी रूपनी–३ का ४२ वर्षीय शम्भुकुमार इसरको पनि ज्यान गएको थियो । यसअघि रौतहट इशनाथ–८ का ५५ वर्षीय शेख जफिर र धनुषा हंसपुर–३ का ६० वर्षीय असर्फी महराको सिँचाइ गर्ने क्रममा मृत्यु भएको थियो ।
सिरहा नगरपालिका–१० की ४५ वर्षीया सविता कामती, सप्तरी खडक–११ का ५८ वर्षीय मो युनुस मियाँ, अग्निसाइर कृष्णासवरन–४ का ७० वर्षीय श्रीमती उर्मीलादेवी यादव, रूपनी–२ का दम्पत्ति बालेश्वर खङ्ग र रामकुमारी खङ्ग, रौतहट मौलापुर–७ का चन्द्रेश्वर बैठकलगायतका घटनाले यस समस्याको दायरा र बारम्बार हुने जोखिमलाई स्पष्ट पारेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असावधानी, लापरबाही तथा पोलमा अर्थिङ नजोड्नु मुख्य कारण हुन् । विद्युतिय सुरक्षा मापदण्ड नपालन गर्दा करेन्ट लाग्ने सम्भावना उच्च हुन्छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तथ्याङ्क अनुसार विगत तीन वर्षमा प्रदेशमा करेन्ट लागेर ३२४ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७९/०८० मा १०७, २०८०/०८१ मा ९८ र २०८१/०८२ मा ११९ जनाको मृत्यु भएको छ। मृतकमध्ये पुरुषको संख्या सर्वाधिक रहेको छ ।
विद्युतिय सुरक्षा विशेषज्ञहरूले करेन्टबाट जोगिनका लागि केहि मुख्य सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । सुरक्षित तार र उपकरण प्रयोग गर्नु, घरमा अनिवार्य रूपमा अर्थिङ र आरएसबी÷एमसीबी जडान गर्नु, पानी नजिक करेन्ट चलाउँदा विशेष सतर्कता अपनाउनु, भिजेको हातले स्विच नछुनु, बालबालिकालाई सचेत गराउनु र मर्मत गर्दा मुख्य स्विच बन्द गरी रबरको पञ्जा–चप्पल प्रयोग गर्नु अत्यावश्यक ठहरिएको छ ।
सिँचाइ र घरेलु विद्युतीय उपकरण प्रयोग गर्दा सुरक्षित अभ्यास अपनाउन समुदाय स्तरमै सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


