जनकपुरधाम, ३१ साउन । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले चाडपर्वको अवसरमा वन संरक्षण र दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बद्ध निकायलाई विशेष निर्देशन दिएका छन् ।

मन्त्री यादवका अनुसार पर्वको समयमा कर्मचारीहरू बिदामा रहने भएकाले वनजन्य चोरी, अवैध निकासी र अन्य गैरकानुनी गतिविधि बढ्ने सम्भावना हुने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ ।

उनले पर्वको समयमा संवेदनशील वन क्षेत्रहरूमा विशेष गस्ती टोली परिचालन गरी वन सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री यादवले स्थानीय समुदाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र सुरक्षाकर्मीबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै भने, ‘वन हाम्रो साझा सम्पत्ति हो । यसलाई जोगाउनु सबैको जिम्मेवारी हो । पर्वको रमाइलो गर्दै गर्दा पनि प्रकृतिप्रतिको कर्तव्य पूरा गर्नुपर्छ ।’

वन मन्त्रालयका अनुसार प्रदेशभरका संवेदनशील वन क्षेत्रमा विशेष गस्ती टोली परिचालन गर्ने तयारी भइरहेको छ । मन्त्रालयले पर्व वा विशेष अवसरमा सचेत कदम चाल्नाले वन अपराध नियन्त्रणमा मात्र नभई प्रदेशमा सरकारी निगरानीप्रति जनविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।

मन्त्री यादवले वन संरक्षणमा जनचेतना र सरकारी निगरानीबीच सन्तुलन कायम गर्नुपर्नेमा समेत जोड दिएका छन् । स्थानीय वन अधिकारीहरूले भने पर्वको समयमा विशेष गस्ती, सामुदायिक सहभागिता र सुरक्षाकर्मीको सक्रिय निगरानीले वनजन्य स्रोतको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।