सप्तरीमा २० दिने शिशुको आमाले गरिन् हत्या, गाउँवासी स्तब्ध

सप्तरी, ३१ साउन । सप्तरीको रूपनी गाउँपालिका–१ रायपुरकी ३० वर्षीया आइसा खातुनले आफ्नै २० दिने शिशुको खुकुरी प्रहार गरी हत्या गरेकी घटना स्थानीयवासीहरूमा ठूलो स्तब्धता सिर्जना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जतेन्द्रकुमार बस्नेतका अनुसार घटना खडक नगरपालिका–८ गोल भदियास्थित माइती घरमा घटेको हो । आइसाले धारिलो हतियार प्रयोग गरी आफ्नै छोराको टाउकोमा प्रहार गरेकी थिइन् ।
शिशुलाई गम्भीर घाइते अवस्थामा तत्काल विराटनगरस्थित न्युरो अस्पताल पुर्याइयो । तर,उपचारकै क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
घटनापछि आइसालाई नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले उनको मानसिक सन्तुलन बिग्रिएको प्रमाणित गरेपछि उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
उपचारका क्रममा आइसासँग उनकी आमा र भाइसहित प्रहरी सहायक निरीक्षक हरिराज सिंहको नेतृत्वमा तीन प्रहरी पनि खटाइएको थियो ।
मृतक शिशुको शव परीक्षण विराटनगरस्थित कोशी अस्पतालमा गरिएको थियो । त्यसपछि मृतकको आमा माइजु सचिला खातुनले शव बुझेकी छिन् ।
स्थानीयवासीहरूले आइसाको क्रूरतापूर्ण कदमले गाउँ समुदायलाई नै स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन् ।
प्रहरी अनुसन्धानका आधारमा घटना बारे थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


