जन्माष्टमी मेला उद्घाटनमा झडप, नगरप्रमुखसहित पाँच जना घाइते

रौतहट, ३१ साउन । देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको क्रममा दुई पक्षबीच भएको झडपमा नगरप्रमुखसहित पाँच जना घाइते भएका छन् ।
कृष्ण जन्माष्टमीको अवसरमा श्रीराम जानकी ब्रह्माबाबा मठ परिसरमा मेला उद्घाटन गर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार झडपमा नगरप्रमुख प्रेमलाल साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर, स्थानीय जगदीश यादवसहित पाँच जना घाइते भएका छन् ।
मेयर साहको टाउकोमा गम्भीर चोट लागेको र उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको उपचार गरुडास्थित बेटर नेपाल हस्पिटलमा भइरहेको छ ।
प्रहरीका अनुसार मेयर साह मठ पुगेपछि स्थानीय रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा विवाद हातपातमा परिणत भएको थियो । प्रहरीले घटनामा संलग्न आरोपमा रामविनोद साह, उनका भाइ राधामोहन साह र छोरा ऋतिक साहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार थप अनुसन्धान जारी छ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


