आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारहरूको धर्ना

जनकपुरधाम, ३१ साउन । साउन २७ गते नेपाल बार एसोसिएशन जनकपुरका वकिलहरूको समूहले मधेश प्रदेशका पत्रकारहरूलाई घेराबन्दी गर्दै सामूहिक आक्रमण गरेको घटनामा ६ जना पत्रकार घाइते भएका थिए । आक्रमणविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता भए पनि अहिलेसम्म कुनै पनि कानुनी कारबाही नभएको नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जनाएको छ ।
घटना विरोधमा शनिबार पत्रकारिता सम्बद्ध विभिन्न संगठनहरूको भेलाले भदौ १ गते आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रदर्शन तथा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रथम चरणको आन्दोलनको आयोजना र अगुवाई नेपाल पत्रकार महासंघ धनुषा शाखाले गर्ने महासंघले जानकारी दिएको छ । महासंघले सम्पूर्ण पत्रकारहरूलाई विरोध कार्यक्रम सफल बनाउन सहभागिताको अपिल गरेको छ । आगामी आन्दोलनका थप कार्यक्रमहरू चाँडै सार्वजनिक गरिने पनि महासंघले बताएको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अनुसार विवाद गुठी संस्थानसँग विधिवत सम्झौता गरेर प्राप्त गरेको जग्गामा बार एसोसिएशनले अवैध पार्किङ गर्न खोज्दा सुरु भएको हो । जग्गा संरक्षणका लागि तारवार गर्दै पत्रकारहरूले घेरा हाल्दा वकिलहरूको समूहले संघातिक आक्रमण गरेको दाबी महासंघले गरेको छ ।

घाइते पत्रकारहरूमा महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार अनिल कुमार निरालाको आँखामा चोट लागेर सुन्निने अवस्था आएको छ । पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट पुगेको छ । त्यस्तै, उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवमाथि पनि लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक व्यवहार गरिएको आरोप लगाइएको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार व्यवस्थापनको जिम्मेवारी लिएको जनाएको छ । महासंघले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न आक्रमणमा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


