प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप

जनकपुरधाम, २९ साउन । प्रादेशिक अस्पताल जनकपुरधाममा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल प्रशासन र परिवारबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका–१ सनचिरैयाकी २३ वर्षीया अर्चना कुमार मण्डलको बुधवार राति मृत्यु भएको हो । परिवारजनका अनुसार करारमा नियुक्त चिकित्सकको लापरबाहीका कारण अपरेशनबाट बच्चा जन्मिएको तीन घण्टाभित्रै मण्डलको ज्यान गएको हो ।
मृतकका श्रीमान् दीपेन्द्र मण्डलले भने, ‘प्रसूतिका लागि ढिला भइसकेपछि हामीले अस्पताल भर्ना गरायौँ र चिकित्सकको सुझावअनुसार अपरेशन गरायौँ । छोरी जन्मिएकी थिइन् । तर, केही घण्टामै श्रीमती गुमाउनु पर्यो । यो गम्भीर लापरबाही हो ।’
तर, प्रादेशिक अस्पताल जनकपुरले चिकित्सकको लापरबाहीको आरोप अस्वीकार गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले अर्चनाको मृत्यु श्वासप्रश्वासमा समस्या देखिएको कारणले भएको बताए । उनले भने, ‘अपरेशनपछि श्वास लिन कठिनाइ भयो, त्यसकै कारण मृत्यु भएको हो ।’
पीडित पक्षको मागअनुसार प्रहरीले छानबिन समिति गठन गरेको छ । मेसु सिंहको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका दुई जना प्रतिनिधि र एक विज्ञ रहेका छन् । समितिको सहमतिपछि मृतकको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
सुत्केरी मृत्युका घटनाहरू मधेश प्रदेशमा बारम्बार हुने क्रम रोकिएको छैन । स्वास्थ्यकर्मीको लापरबाही, ढिलो उपचार, पर्याप्त विशेषज्ञ डाक्टरको अभाव र स्वास्थ्य संरचनाको कमजोरी यसका प्रमुख कारणका रूपमा देखिन्छन् ।
घटनापछि स्थानीय नागरिक र स्वास्थ्य अधिकारकर्मीहरूले दोषी चिकित्सकविरुद्ध कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न आग्रह गरेका छन् । प्रशासनले घटनाको पूर्ण छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


