विपद् व्यवस्थापनका लागि सरोकारवालाको सहकार्य आवश्यक : मन्त्री लेखी

जनकपुरधाम, २९ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापन कार्ययोजना अत्यन्त महत्वपूर्ण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरमा आयोजित ‘विपद संकटग्रस्त प्रतिकार्य कार्ययोजना तर्जुमा’ कार्यक्रममा मन्त्री लेखीले दातृ निकायका प्रतिनिधि, सुरक्षा निकाय र सम्बन्धित विभागीय मन्त्रालयबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनले कार्यक्रममा उठेका सुझाव र विषयवस्तुहरू संकलन गरी आगामी विपद व्यवस्थापन बैठकमा सार्थक निर्णय लिइने जानकारी दिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. प्रगट अर्यालले विपद्का बेला शिक्षा, स्वास्थ्य र पोषण क्षेत्रमा देखिने गम्भीर प्रभावबारे जानकारी प्रस्तुत गरे । त्यसैगरी, विश्व खाद्य सुरक्षा संस्थाका कृष्ण माझीले कृषि तथा खाद्य सुरक्षासँग सम्बन्धित प्रस्तुति दिएका थिए भने ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयकी इन्जिनियर सम्झना लामिछानेले आफ्ना कार्यपत्र र अनुभव साझा गरिन् ।
खुला सत्रमा सहभागी आधा दर्जन सरोकारवालाले सुख्खा व्यवस्थापन, उद्धार रणनीति र व्यवहारिक उपायहरूको बारेमा आफ्ना धारणा राखेका थिए ।
मन्त्री लेखीले भने, ‘विपद् व्यवस्थापन कार्ययोजना केवल नीति बनाउने मात्र नभई वास्तविक परिस्थितिमा कार्यान्वयन हुने रणनीति तयार गर्नुपर्छ । सबै सरोकारवालाको सक्रिय सहभागिताले मात्र प्रदेशमा प्रभावकारी विपद व्यवस्थापन सुनिश्चित गर्न सकिन्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


