सिरहामा ८८ वर्षीय वृद्धको हत्या, दुई जना पक्राउ

सिरहा, २९ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल बस्ने ८८ वर्षीय फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल रहेका छन् ।
सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार दुवैजनाले चोरी गर्न उद्देश्य राखेर वृद्ध यादवको घरमा प्रवेश गरेका थिए । घरभित्र पसेपछि वृद्धले हल्ला गर्दा मुख्य आरोपित चौधरीले खुकुरी प्रहार गरेको अनुसन्धानमा खुलेको छ । घटनास्थलबाट खुकुरी र एक जोडी चप्पल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
फनिलाल यादवको हत्या साउन १४ गते भएको थियो । अनुसन्धान क्रममा प्रहरीले वरिपरिको सीसीटीभी फुटेजको विश्लेषण गर्दै घटनास्थलमा भेटिएको चप्पलको सुराकीका आधारमा अनुसन्धान अघि बढाएको थियो । यसै क्रममा साउन २३ गते १९ वर्षीय प्रशान्त मण्डल पक्राउ परे भने मण्डलको बयानका आधारमा मुख्य आरोपित चौधरीलाई साउन २७ गते नियन्त्रणमा लिइएको हो ।
घटनामा इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेश प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान कसुरमा दुवै अभियुक्तमाथि ७ दिनको म्याद थप गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


