गोदावरी हस्पिटलमा उपचार नपाएर युवकको मृत्यु, परिवार आक्रोशित

जनकपुरधाम, २९ साउन । जनकपुरधामस्थित गोदावरी हस्पिटलमा १८ वर्षीय युवक असलम साफीको मृत्यु भएपछि परिवारजन र स्थानीयहरूमा आक्रोश फैलिएको छ । परिवारले अस्पताल र चिकित्सकको लापरबाहीका कारण उनको ज्यान गएको आरोप लगाएका छन् ।
मंगलबार असलम साफी मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । उनी भ्रमरपुरा चोक नजिकै साथीको साथ काममा जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएको थियो ।
दुर्घटनापछि प्रारम्भिक उपचारका लागि उनलाई जनकपुर प्रादेशिक अस्पतालमा लगिएको थियो । तर, परिवारका अनुसार एक सरकारी चिकित्सकले ‘कमिशनको लोभ’मा असलमलाई न्यूरो सर्जन नभएको गोदावरी हस्पिटल पठाउन सुझाव दिएका थिए ।
असलमको टाउकोमा गम्भीर चोट लागेको भए पनि उनी आवश्यक न्यूरो सम्बन्धी उपचार नपाएर उपचारमा ढिलाइ भएको परिवारले बताएका छन् । जनकपुरमा न्यूरो हस्पिटल र प्रादेशिक अस्पताल दुवैमा न्यूरो सर्जन डाक्टर उपलब्ध हुँदाहुँदै घाइतेलाई त्यहाँ नपुर्याई असम्बन्धित अस्पतालमा लैजानु गम्भीर लापरबाही भएको स्थानीय स्वास्थ्यकर्मीहरूले टिप्पणी गरेका छन् ।
घटनापछि पीडित परिवार र स्थानीयले गोदावरी हस्पिटल परिसरमा केहीबेर हंगामा गरेका थिए । परिवारका अनुसार असलमको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरूले आफ्नो मोबाइल स्विच अफ गरी फरार भएका छन् ।
स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार दुर्घटनाका घाइतेलाई शीघ्र र उचित विशेषज्ञ उपचार नपाउँदा मृत्युको जोखिम अत्यधिक हुन्छ । उनीहरूले यस्तो असम्बन्धित उपचारलाई चिकित्सा नैतिकताको उल्लंघन ठहराएका छन् ।
पीडित परिवारले दोषी चिकित्सकविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् भने न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन् ।
यस प्रकरणको अनुसन्धान जिल्ला प्रहरी कार्यालय र सम्बन्धित स्वास्थ्य प्रशासनले गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


