जनकपुरधाम, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग बिहीबार भारत सरकारको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको टोलीले भेटघाट गरेको छ ।

बिहान भएको भेटमा भारतीय तीन सदस्यीय प्रतिनिधिमण्डलले प्रदेशको भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्ने र पानीको अभाव समाधानका उपायबारे सुझाव दिने योजना प्रस्तुत गरेका थिए । प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी थिए ।

प्रतिनिधिमण्डलले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जल सम्बन्धी आवश्यक अनुसन्धान गर्ने जानकारी पनि दिएका छन् ।

मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान र सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन तथा भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले जल अभावको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अनुसन्धान र अन्तरदेशीय सहकार्य अपरिहार्य भएको पनि औँल्याए ।