जनकपुरधाम, २८ साउन । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा विगतका सबै वर्षको तुलनामा सर्वाधिक आन्तरिक राजस्व संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार यस वर्ष प्रदेशले ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो । यो विगत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।

सचिव महतोले बताएअनुसार कर प्रशासनको सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा आएको वृद्धिका कारण यो उपलब्धि सम्भव भएको छ । उनले भने, ‘विगत सात वर्षको तथ्यांक हेर्दा यो वर्षको संकलन सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी छ । यसले प्रदेशको आर्थिक वृद्धि र कर प्रविधिको सुधारलाई पुष्टि गर्दछ ।’

विगतका तथ्यांक अनुसार आव ०७५/७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार, ०७६/७७ मा २ अर्ब ७५ करोड ७२ लाख ४१ हजार, ०७७/७८ मा १ अर्ब ९५ करोड ४८ लाख ५१ हजार, ०७८/७९ मा २ अर्ब ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्ब ९० करोड २५ लाख २८ हजार र २०८०/८१ मा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो । यस वर्षको संकलन प्रदेशको आन्तरिक आम्दानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ ।

अर्थ विज्ञ रामकुमार पाण्डेका अनुसार, ‘राजस्व संकलनमा आएको यो वृद्धि कर प्रणालीमा सुधार, करदाता सचेतना र डिजिटल प्रणालीको प्रभावलाई देखाउँछ । यसले भविष्यमा प्रदेशको आर्थिक योजना र विकास कार्यक्रमहरूलाई थप सुदृढ बनाउनेछ ।’

प्रदेश सरकारले आगामी वर्षमा कर संकलन प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली र अनलाइन कर भुक्तानी विस्तार गर्ने योजना अघि सारेको छ ।

सचिव महतोले भने, ‘प्रदेश सरकारले कर संकलनमा सुधार ल्याएको मात्र नभई करदातालाई सहज र पारदर्शी सेवा उपलब्ध गराउनमा पनि जोड दिएको छ । यस कार्यले प्रदेशको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउनेछ ।’

यससँगै, मधेश प्रदेशको आर्थिक नीतिले आन्तरिक स्रोतलाई प्राथमिकतामा राखेर दीर्घकालीन वित्तीय स्थिरता र विकासको आधार मजबुत बनाउन सक्ने देखिएको छ ।