जनकपुरधाम, २८ साउन । धनुषामा लागुऔषध कारोबारमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ नक्टाझिजका ४८ वर्षीय पप्पु साह र २७ वर्षीया सेलोदेवी राम रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बुधबार दिउँसो दुवैलाई नियन्त्रणमा लिने क्रममा पप्पुले भाग्न खोजेपछि एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । गोली लागेर पप्पुको दाहिने खुट्टा घाइते भएको र उपचारका लागि अस्पताल पठाइएको छ ।

ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार पप्पु यसअघि दुई पटक कारागार सजाय भोगिसकेका व्यक्ति हुन् । उनले २०६१ सालमा लागुऔषधको मुद्दामा पाँच वर्ष र २०७९ सालमा पक्राउ परी दुई वर्ष कैद सजाय काटेका थिए । करिब नौ महिनाअघि मात्र उनी जेलमुक्त भएका थिए ।

प्रहरीले पप्पुको साथबाट १०८ ग्राम र सेलोदेवीको साथबाट १०० ग्राम खैरो हेरोइन तथा तौल्ने डिजिटल तराजु बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा दुवै जना लागुऔषध कारोबारमा सक्रिय रहेको प्रमाण फेला परेको प्रहरीको दाबी छ ।

इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेलको नेतृत्वमा खटिएको टोलीले पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको जनाएको छ ।