जनकपुरधाममा ‘मधेशमा नेपाली काँग्रेस’ अन्तरसंवाद

जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको ८६औँ जन्मजयन्तीको अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार जनकपुरधाममा ‘मधेशमा नेपाली काँग्रेस’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
वक्ताहरूले स्व. कोइरालालाई सादगीपूर्ण जीवन, उच्च विचार र जनताको पक्षमा अडिग नेताका रूपमा स्मरण गर्दै संविधान सभाबाट संविधान जारी गराउन उनले खेलेको भूमिकालाई ऐतिहासिक बताएका छन् ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री सुरेन्द्र चौधरीले कोइरालालाई सुशासन र विधिको शासनमा दृढ विश्वास राख्ने नेतृत्वकर्ता भएको उल्लेख गर्दै भने, ‘उनी गणतान्त्रिक संविधान दिने ऐतिहासिक नेतृत्वकर्ता थिए ।’
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष एवम् केन्द्रीय सदस्य मधु आचार्यले कोइरालाको दृढता र सदाचार जीवनशैली पार्टी नेतृत्वका लागि प्रेरणादायी रहेको बताइन् । अर्का केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले उनका विचार र अडान पार्टीका लागि मार्गदर्शन भएको उल्लेख गरे ।
केन्द्रीय सदस्य मुक्ता कुमारी यादव, सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीलगायतका वक्ताले स्व. कोइरालाको व्यक्तित्व र योगदानबारे आफ्ना धारणा राखे । अन्तरसंवादमा सप्तरीदेखि पर्सासम्मका विभिन्न तहका अगुवा नेताहरूको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


