गैरसरकारी संस्था महासंघको प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न

जनकपुरधाम, २८ साउन । गैरसरकारी संस्था महासंघको रणनीति, नीति तथा मार्गनिर्देशसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण बुधबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता महासंघ मधेश प्रदेश अध्यक्ष राम बाबु साहले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानी मैयाँ थापा थिइन् ।
अभिमुखीकरणलाई अवसरका रूपमा व्याख्या गर्दै थापाले गैरसरकारी संस्थाहरूले जनताको अधिकार, पैरवी, समानता र दिगो विकासका लक्ष्यप्रति आफ्नो प्रतिबद्धता स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘नीति निर्माणदेखि संगठनात्मक क्षमता अभिवृद्धिसम्मको काममा एकजुट भएर अघि बढ्न जरुरी छ ।’
अध्यक्ष साहले प्रदेशस्तरमा नागरिक समाजका संस्थाहरूको समन्वय र सहकार्य बलियो बनाउने यो कार्यक्रम महत्वपूर्ण कदम भएको बताए । ‘यसले हामीलाई साझा उद्देश्यतर्फ संगठित बनाउनेछ,’ उनले भने ।
अभिमुखीकरणमा महासंघका रणनीतिक प्राथमिकता २०३० अन्तर्गत नीति निर्माण, नागरिक अधिकार, जनविश्वास, समानता, दिगो विकास लक्ष्य, संस्थागत क्षमता र साझेदारी सम्बन्धी विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय सचिव राम चन्द्र साह, पूर्वसचिव वैद्यनाथ चौधरीलगायत विभिन्न जिल्लाका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


