जनकपुरधाम, २८ साउन । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिका अध्यक्ष र पदाधिकारीमाथि बार एशोसिएशनका केही पदाधिकारी र सम्बद्ध अधिवक्ताहरूले हमला गरेपछि मिडिया काउन्सिलले गम्भीर ध्यानाकर्षण गरेको छ ।

मधेश प्रदेश महासंघले कार्यालय भवन निर्माणको उद्देश्यले गुठी संस्थानसँग गरेको जग्गा सम्झौतासम्बन्धी विवाद कानुनी प्रक्रियाबाट समाधान गर्न सकिन्थ्यो । तर, विवाद समाधानको सट्टा दुई पक्षीय हातपात भएको र यस क्रममा मिडिया काउन्सिलका पदेन सदस्य समेत रहेका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार अनिल निराला र दिवाकर राय घाइते भएको मिडिया काउन्सिलले जनाएको छ ।

कार्यवाहक अध्यक्ष सुरेश यादवले जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न दोषी अधिवक्तालगायतलाई कानूनअनुसार कारबाही गर्न वार एशोसिएशनलाई नैतिक नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ । साथै, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषालाई सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरिएको छ ।

काउन्सिलले यस प्रकारको हिंसात्मक घटना प्रेस स्वतन्त्रता र पेशागत मर्यादाप्रति ठाडो चुनौती भएको जनाएको छ ।