पत्रकार कुटपिट घटनामा मानव अधिकार आयोगको अनुसन्धान

जनकपुरधाम, २८ साउन । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिका पदाधिकारीमाथि नेपाल बार एसोसिएसन जनकपुरका केही पदाधिकारी र अधिवक्ताहरूले गरेको आक्रमणको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित स्वर्गद्वारी नजिकको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको सम्झौता अनुसार प्राप्त गरेपछि पत्रकार सम्मेलन र त्यसपश्चात् जग्गामा तारको घेरा हाल्दा गरिएको आक्रमणबारे आवश्यक तथ्य बुझ्न आयोगको टोली घटनास्थल पुगेको हो ।
आयोगको टोलीमा मानव अधिकार अधिकृत किरण घिमिरे, राहुल कुमार ठाकुर र सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा रहेका थिए ।
उनीहरूले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयमा गएर घटनाको विस्तृत जानकारी लिएका थिए । यसबाहेक आयोगका कर्मचारीहरूले घाइते पत्रकार तथा सम्बन्धित व्यक्तिहरूसँग पनि जानकारी संकलन गरेका छन् ।
मधेश प्रदेश कार्यालयले आयोगलाई जानकारी दिँदै घटनामा घाइते पत्रकारको विवरण प्रस्तुत गरेको छ । यसअनुसार महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको थियो ।
महिला उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवसहित अन्य पत्रकारमाथि पनि लैङ्गिक संवेदनशीलतालाई बेवास्ता गर्दै हातपात गरिएको तथ्य महासंघले आयोगलाई जानकारी दिएको छ ।
घटनाको सत्यतथ्य र छानबिन गर्न महासंघले आयोगसँग आग्रह गर्दै संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादालाई कायम राख्ने, दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन सिफारिस गर्न आवश्यक रहेको बताए ।
आयोगका कर्मचारीहरूले आफूहरूले प्राप्त तथ्यांक र खोजबिन अनुसन्धान गर्दै तत्काल रिपोर्ट पेश गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
यसैबीच मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको नेतृत्वमा टोलीले पनि महासंघको कार्यालयमा गई घटनाका बारेमा विस्तृत जानकारी लिएको छ ।
कार्यवाहक अध्यक्ष यादव, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेश कार्यालय प्रमुख राजु पासमानको टोली प्रादेशिक अस्पताल जनकपुरधाममा गई घाइतेहरूसँग भेटघाट गरेर जानकारी संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता लगायतका पत्रकारहरूले घटनामा उपस्थित भएर घटनाको गम्भीरतालाई जोड दिएका छन् ।
यस घटनाले प्रेस स्वतन्त्रता, पेशागत मर्यादा र कानुनी शासनमाथि ठाडो चुनौती पुर्याएको भन्दै मानव अधिकार आयोग, मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरणले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


