पत्रकारमाथि आक्रमणको प्रेस चौतारीद्वारा भर्त्सना

जनकपुरधाम, २८ साउन । जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय निर्माणस्थलमा मंगलबार नेपाल बार एशोसिएसन धनुषाका पदाधिकारीहरूको नेतृत्वमा गरिएको पत्रकारमाथिको आक्रमणप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ ।
मंगलबार भएको घटनामा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साहमाथि आक्रमण भएको थियो । यस क्रममा महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर साहको टाउकोमा गम्भीर चोट लागेको छ ।
प्रेस चौतारी नेपालले यस घटनालाई प्रेसमाथि योजनाबद्ध हमलाको रूपमा लिएको जनाएको छ । महासचिव हिरामान लामाले भने, ‘यो अपराधिक मानसिकतासहित निम्त्याइएको दुखद घटना हो । प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यप्रतिको ठाडो चुनौती हो । पेशागत मर्यादाको समेत ख्याल नगरी बार एशोसिएसनको नाममा गुण्डागर्दी गरिनुले न्यायप्रेमी समाजलाई लज्जित र स्तब्ध तुल्याएको छ ।’

संस्थाले हमलामा संलग्न सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन, घाइते पत्रकारहरूको उपचार खर्च व्यहोर्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न राज्यसँग माग गरेको छ । साथै आवश्यक परे यस्ता आपराधिक घटनाको प्रतिकारमा उत्रन प्रेस चौतारी नेपाल बाध्य रहने चेतावनी पनि दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


