जनकपुरधाम, २७ साउन । जनकपुरधाममा गुठी संस्थानको लिजको जग्गा सम्बन्धी विवाद मंगलबार हिंसात्मक मोड लिँदै पत्रकार र वकिलबीच प्रत्यक्ष भिडन्तमा परिणत भएको छ । घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्षसहित आधा दर्जन पत्रकार घाइते भएका छन् ।

घाइते हुनेमा महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय, अनिल निराला र विनिता यादव छन् । चिकित्सकका अनुसार महासचिव क्रान्तिको पैताला भाँचिएको छ भने अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । पत्रकार रायको टाउकोमा समेत गहिरो चोट छ ।

गुठी संस्थानले भूतनाथ महादेव मन्दिरको दक्षिणतर्फको चार कठ्ठा जग्गा नेपाल पत्रकार महासंघलाई २० वर्षका लागि वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा लिजमा दिएको हो । गुठी संस्थानको जेठ ७ गतेको सार्वजनिक बोलपत्र प्रक्रियामार्फत आर्थिक तथा प्राविधिक मूल्यांकन पार गरेपछि महासंघको प्रस्ताव छनौट भई साउन १९ गते कानुनी प्रक्रिया पूरा गर्दै सम्झौता भएको थियो ।

तर, नेपाल बार एसोसिएसन जनकपुरधामले उक्त जग्गा आफ्नो पार्किङ स्थल भएको दाबी गर्दै सम्झौतापछि एकतर्फी रूपमा साउन २० गते ‘सवारी पार्किङको निर्णय’ गरेको थियो । त्यसपछि बारले त्यहाँ फलामे पिलर गाडेर घेराबारसमेत सुरु गरेको थियो ।

विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा बार र महासंघबीच मौखिक सहमति भएको थियो । यदि बाटोको आवश्यकता भए फुकाइदिने, पछाडिको जग्गा उपलब्ध भए बारलाई प्राथमिकता दिने र अन्य विवाद कानुनी बाटोबाट समाधान गर्ने सहमति भयो । सहमतिअनुसार पिलर हटाउने भनिए पनि बारले घेराबार हटाएन । बरु, आइतबार उच्च अदालतमा महासंघविरुद्ध उत्प्रेशनको रिट दायर गर्याे ।

मंगलबार महासंघले जग्गा विवादबारे पत्रकार सम्मेलन गर्दै बारको कदमलाई ‘गैरकानुनी’ भन्दै सार्वजनिक भण्डाफोर गर्यो ।त्यसपछि बारका कानुन व्यवसायीहरूको ठूलो समूह घटनास्थल पुगेर पत्रकारहरूलाई कुटपिट गरे ।

प्रत्यक्षदर्शीका अनुसार, संख्यामा थोरै रहेका पत्रकारहरूलाई वकिलहरूको समूहले धकेल्दै कुटपिट गर्यो । पत्रकार महासंघका उपाध्यक्ष ज्योति झाले आफूलाई गालीगलौज मात्र नभई अध्यक्ष बन्जारा, महासचिव क्रान्ति र पत्रकार रायमाथि प्रत्यक्ष आक्रमण भएको आरोप लगाइन् । ‘कानून व्यवसायीहरूले प्रत्यक्ष रूपमा कानूनको धज्जी उडाएका छन् । यो केवल जग्गाको विवाद मात्र नभई पत्रकारितामाथिको आक्रमण हो,’ उनले भनिन्।

पत्रकार महासंघका अध्यक्ष बन्जाराले कानुनी प्रक्रिया पूरा गरेर जग्गा लिएको भए पनि बारले पूर्वाग्रहका साथ कब्जा गर्न खोजेको आरोप लगाए । उनका अनुसार, पहिले नै मौखिक सहमति भए पनि पछिल्लो घटनाले त्यो विश्वास तोडेको छ ।

यता, वकिलहरूले भने पत्रकारहरूले आक्रामक व्यवहार गर्दै वकिलको कोट च्यातेको र शारीरिक आक्रमण गरेको आरोप लगाएका छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले विवाद समाधानका लागि कानुनी बाटो अपनाउन दुवै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश र केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारहरूलाई आक्रमण गर्नु प्रेस स्वतन्त्रतामाथिको सीधा प्रहार हो । यसलाई सह्य गर्न सकिँदैन ।’