धनुषामा १६ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त, २४ हजार बिरुवा रोपियो

जनकपुरधाम, २७ साउन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमला क्षेत्रमा रहेको १६ हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपणमार्फत संरक्षणको पहल भएको छ ।
सबडिभिजन वन कार्यालय गोदारले अनधिकृत किनबेच र अतिक्रमण रोक्न सक्रियता देखाउँदै अतिक्रमणमुक्त क्षेत्रलाई तारजालीले घेराबारसमेत गरेको छ ।
वन अधिकृत भगलु मण्डलका अनुसार ३० हेक्टर वनक्षेत्रमध्ये हालसम्म १५ हेक्टर क्षेत्र अतिक्रमणमुक्त गरिसकिएको छ । अतिक्रमणमुक्त जमिनमा विभिन्न प्रजातिका २४ हजार बिरुवा रोपिएको छ । बाँकी जमिन पनि चाँडै खाली गरेर वृक्षरोपण गरिने उनले जानकारी दिए ।
स्थानीय र भूमाफियाबीचको मिलेमतोमा वन क्षेत्रको कपाली तमसुक बनाएर किनबेच भइरहेको तथ्य बाहिर आएपछि वन कार्यालय सक्रिय भएको हो । स्थानीयहरूले खेतीको नाममा वन क्षेत्र कब्जा गर्दै आएको र अतिक्रमण गरिएका जमिनहरू किनबेचमा प्रयोग भएको पाइएको छ ।
वन क्षेत्रको अनधिकृत प्रयोग रोक्न कार्यालयले तारजालीको घेराबार, सुरक्षा व्यवस्था र दीर्घकालीन संरक्षण योजना अगाडि सारेको छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार वन जमिन अतिक्रमण र किनबेच पूर्ण रूपमा गैरकानुनी भएकाले छानबिन प्रक्रिया अघि बढाइएको छ । उनले स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर बाँकी अतिक्रमित जमिन पनि चरणबद्ध रूपमा खाली गरिने बताए ।
आर्थिक वर्ष २०८१/८२ मा धनुषामा ३० हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त भएको भए पनि हालसम्म ८४२ हेक्टर वनक्षेत्र अझै अतिक्रमणको चपेटामा रहेको डिभिजन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


