जनकपुरधाम, २७ साउन । केही दिनको सामान्य वर्षाले मधेश प्रदेशका किसान र सर्वसाधारणलाई अस्थायी राहत दिए पनि धनुषा जिल्लामा खानेपानी र सिँचाइको दीर्घकालीन समस्या समाधान अझै चुनौतीपूर्ण बनेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका ५४ वटा डिप बोरिङमध्ये ४९ वटा बन्द अवस्थामा छन् । यसले खेतीपाती र खानेपानी आपूर्तिमा ठूलो असर पारेको स्थानीय तहका प्रतिनिधिहरू बताउँछन् ।

लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रका अनुसार सबै डिप बोरिङ सञ्चालनमा आएमा करिब ९५ प्रतिशत खानेपानी तथा सिँचाइ समस्या समाधान हुन सक्छ । नगराइन नगरपालिकाका नगरप्रमुख विनय यादवले पनि पुराना डिप बोरिङ पुनः सञ्चालन गर्दा दुवै क्षेत्रमा ठूलो सुधार हुने विश्वास व्यक्त गरे ।

गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जीतनारायण यादवले ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको बताउँदै पानी नपरेमा धान सुक्ने जोखिम रहेको चेतावनी दिए ।

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले नयाँ डिप बोरिङ जडान गर्नुको साटो पुराना बन्द बोरिङहरू पुनः सञ्चालनमा ल्याउन स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक भएको धारणा राखे ।

कार्यक्रममा सहभागी सरोकारवालाले जलस्रोत पुनः सञ्चालनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन समाधानका लागि पहल आवश्यक रहेको सुझाव दिएका छन् ।