गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई आर्थिक हब बनाउने तयारीमा मधेश सरकार

सप्तरी, २७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापना गर्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।
मंगलबार बिहान औद्योगिक क्षेत्रको प्रत्यक्ष अवलोकन र निरीक्षण गर्दै उनले प्रदेश सरकारले आधारभूत पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए ।
मुख्यमन्त्री सिंहका अनुसार हाल ढल निकास, खानेपानी आपूर्ति र अन्य पूर्वाधारगत कमजोरी समाधान गर्न प्राथमिकताका साथ काम भइरहेको छ । ‘पूर्वाधार सुधारसँगै आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पनि पहल भइरहेको छ,’ उनले भने ।
उनका अनुसार ठूला उद्योग स्थापना भए रोजगारी सिर्जना, राजस्व संकलनमा वृद्धि र स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेछ । उद्योगपति र लगानीकर्तालाई यस क्षेत्रमा उद्योग स्थापना गर्न आग्रह गर्दै उनले भने, ‘हामी लगानीकर्तालाई आवश्यक सहयोग र अनुकूल वातावरण उपलब्ध गराउन तयार छौं ।’
वि.सं. २०४४ सालमा स्थापना भएको यस औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा छन् भने धेरै प्लट खाली छन् । अहिले थप १० वटा प्लटमा नयाँ उद्योग स्थापना गर्ने तयारी भइरहेको छ । तर, पूर्वाधार, विजुली आपूर्ति र सुरक्षाको कमीका कारण उद्योगीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।
सप्तरीको भौगोलिक स्थिति, भारतसँगको नजिकको पहुँच र यातायात सुविधाका कारण यस क्षेत्रलाई मधेश प्रदेशको आर्थिक हबका रूपमा विकास गर्न सकिने सम्भावना औद्योगिक क्षेत्रका सरोकारवालाले देखाएका छन् ।
व्यापारी संघसंस्थाका प्रतिनिधीहरूका अनुसार सरकारले पूर्वाधार र सुरक्षाको सुनिश्चितता गर्न सके कपडा, प्रशोधन, निर्माण र निर्यातमुखी उद्योगहरू आकर्षित गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


