जनकपुरधाम, २७ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी र पत्रकारमाथि कानून व्यवसायीहरूको समूहद्वारा गरिएको आक्रमणप्रति प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गरेको छ ।

घटनामा घाइते भएका महासंघका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रेस चौतारीले सम्बन्धित निकायहरूसँग उपचारमा आवश्यक सहयोग र सहजीकरणको माग गरेको छ ।

काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानको प्रधान कार्यालयसँग साउन १९ गते गरिएको कानूनी सम्झौता अनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेशले चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा पाएको थियो । महासंघले उक्त जग्गामा भवन निर्माणको उद्देश्यले तारघेरा गरी सुरक्षाको काम अघि बढाइरहेका बेला धनुषा बार एसोसिएसन नेतृत्वको कानून व्यवसायी समूहले अवरोध गर्दै पत्रकारमाथि आक्रमण गरेको प्रेस चौतारीले कडा रुपमा भर्त्सना गरेको छ ।

यस प्रकारको आक्रमणलाई प्रेस स्वतन्त्रता र कानूनी प्रक्रिया विपरीत ठहर गर्दै प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ । साथै, मधेश प्रदेशका आठ जिल्लाका पत्रकारहरूको प्रादेशिक कार्यालय निर्माण कार्यमा कुनै पनि अवरोध नहुने सुनिश्चित गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिका महासचिव दिवाकर भण्डारीले जग्गा कब्जा गर्ने नियतले भएको हस्तक्षेप दुःखद र खेदजनक भएको उल्लेख गर्दै पत्रकारहरूको सुरक्षाको लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।