पत्रकारमाथि आक्रमणको प्रेस सेन्टर नेपालद्वारा निन्दा

जनकपुरधाम, २७ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पदाधिकारी तथा पत्रकारमाथि कानून व्यवसायीहरूको समूहले गरेको सामूहिक आक्रमणप्रति प्रेस सेन्टर नेपाल, धनुषाले गम्भीर ध्यानाकर्षण गरेको छ ।
मंगलबारको घटनामा पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय, अनिलकुमार निराला, विनिता यादवलगायत घाइते भएका छन् ।
प्रेस सेन्टरले घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि नेपाल सरकार, मधेस प्रदेश सरकार र स्थानीय प्रशासनसँग आवश्यक सहयोगको माग गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थानसँगको २० वर्षे लिज सम्झौताको कानुनी प्रक्रियाअनुसार चार कट्ठा जग्गा सुरक्षित गर्न तारबार र घेराबारी गर्दै गर्दा नेपाल बार एसोसिएसन धनुषा नेतृत्वको कानून व्यवसायीहरूको समूहले अवरोध गर्दै पत्रकारमाथि आक्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारको अवरोध र आक्रमणलाई कानुन विपरित र प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप भएको भन्दै प्रेस सेन्टरले कडा भर्त्सना गरेको छ । साथै, घटना सम्बन्धी निष्पक्ष छानबिन गरी आक्रमणमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष दिपक कुमार मिश्रले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटनाले दोहोरिन नदिन सबै सरोकारवालालाई जिम्मेवार हुन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


