जनकपुरधाम, २७ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्वर्गद्वारी छेउको जग्गा सम्बन्धी विवादका कारण नेपाल पत्रकार महासंघका पदाधिकारीसहित केही पत्रकारमाथि बार एसोसिएसन जनकपुरका केही पदाधिकारी र अधिवक्ताहरूले कुटपिट गरेका छन् ।

जग्गा भवन निर्माणका लागि महासंघले लिजमा लिएको र तारले घेराबार गरिरहेको समयमा भएको उक्त आक्रमणमा ४ जना पत्रकार घाइते भएका छन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका घाइते पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेर अवस्था गम्भीर छ भने महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा दुई स्थानमा भाँचिएको छ । महिला उपाध्यक्ष ज्योती झा र पत्रकार विनिता यादवमाथि समेत अधिवक्ताहरूले दुर्व्यवहार र हातपात गरेको आरोप लगाइएको छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारालाई लक्षित गरेर पनि आक्रमण भएको छ भने अध्यक्षको अवस्था सामान्य रहेको बताइएको छ । महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको ठूलो आक्रमण भन्दै कडा निन्दा गरेको छ ।

मधेश प्रदेश समितिले अधिवक्ताहरूको असंवैधानिक आचरणलाई ‘अदालत हाम्रो खल्तीमा छ, हामी जे भन्छौं त्यही हुन्छ’ भनी धम्काउने व्यवहारको रुपमा व्याख्या गर्दै केन्द्रीय बार र बार काउन्सिलमार्फत कारबाही गर्न माग गरेको छ । साथै, नेपाल सरकारले तत्काल विशेष छानबिन समिति गठन गरी न्याय सुनिश्चित गर्नुपर्ने महासंघको आग्रह छ ।

घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र अन्य सरोकारवालाहरूलाई पनि निष्पक्ष छानबिनका लागि सहयोग गर्न महासंघले आग्रह गरेको छ । पत्रकारहरूमाथि गरिएको कुटपिटमा संलग्न जनकपुर बार एसोसिएसनका पदाधिकारी र अधिवक्ताहरूमाथि तुरुन्त कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह र मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बन्जाराले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको सुरक्षाका लागि सबै सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेका छन् ।