काठमाडौँ, २७ साउन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले मधेश प्रदेश समितिको कार्यालय भवन लिजमा लिइएको श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न बार एसोसिएसन धनुषाद्वारा गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा माथिको गम्भीर हस्तक्षेप भन्दै कडा निन्दा गरेको छ ।

मंगलबार बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको समूहले प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साहसहितका पत्रकारहरूलाई आक्रमण गरेका थिए । आक्रमणमा महासंघका महासचिव क्रान्तिको खुट्टा भाँचिएको र दिवाकर साहको टाउकोमा गम्भीर चोट लागेको छ ।

महासंघले ‘अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौँ त्यही हुन्छ’ भन्ने अभिव्यक्तिसँगै पत्रकारमाथि भएको यो आक्रमणलाई प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप ठहर गर्दै आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न र घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न माग गरेको छ ।

महासचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रता सुरक्षित राख्न र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सबै सरोकारवालालाई सतर्क रहन आग्रह गरेका छन् । घटनापछि प्रदेश समितिले पनि पत्रकारहरूको सुरक्षित कार्य वातावरणका लागि आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।