मधेशमा सिँचाइको स्थायी समाधानमा सरकारको प्रतिबद्धता

काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन र स्थायी समाधान खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले तराईका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सकिएकोमा खुशी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको दीर्घकालीन योजना कार्यान्वयनमा ल्याइने उल्लेख गर्दै अहिले ५०० वटा डिपबोरिङ जडान कार्य सुरु भइसकेको बताए । साथै, सुनकोशी–मरिन डाइभर्सन परियोजनाको काम तीव्र गतिमा अघि बढिरहेको समेत जानकारी दिएका छन् ।
उनले सुक्खाग्रस्त क्षेत्रमा सरकारले राहत तथा सहयोगका विशेष निर्णयहरू गरेको स्मरण गराउँदै किसानहरूको कठिनाइ र सपनालाई ध्यानमा राखेर सरकारले व्यापक पहल गरिरहेको बताए । ‘किसानहरूको मुस्कान र जमिनमा हरियाली फर्काउने हाम्रो प्राथमिकता हो,’ प्रधानमन्त्री ओलीले भने ।
साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा रोपाइँको राम्रो प्रगति भएको उनले जानकारी दिँदै केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो फाँट फैलने विश्वास व्यक्त गरे । कृषकहरूलाई स्थायी सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


