सप्तरी, २५ साउन । सप्तरीको राजगढ–२ कमलपुरस्थित गत हप्ताको गोली प्रकरणमा मृत्यु भएका ३६ वर्षीय लालु यादवको परिवारलाई आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सान्त्वना दिएका छन् ।

मुख्यमन्त्री सिंह घटनास्थल पुगेर मृतकका परिवारका सदस्य, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गरी घटनाको विस्तृत जानकारी लिएका थिए ।

स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले परिवारलाई धैर्य धारण गर्न कामना गरेका छन् । उनले घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिन तीव्र गतिमा अगाडि बढिरहेको र सत्य तथ्य चाँडै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गरे ।

घटनाले स्थानीयवासीहरूमा ठूलो आक्रोश उत्पन्न भएको छ । मृतक यादवको मृत्युप्रति स्थानीयहरूले कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरू दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने जोड दिँदै न्यायपूर्ण समाधान खोज्न निरन्तर आवाज उठाइरहेका छन् ।

यस प्रकरणको छानबिनलाई सरकारले गम्भीरतापूर्वक अघि बढाएको र शीघ्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ ।