रौतहट, २५ साउन । रौतहट जिल्लामा सीमा सुरक्षा कडा बनाउँदै सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा पाँच करोड ७४ लाख २ हजार ६९९ मूल्यबराबरका विभिन्न अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा भन्सार छलीमा संलग्न अपराधी विरुद्ध व्यापक सक्रियता देखाएर बरामदगीको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए ।

उनका अनुसार दुई करोड ३१ लाख ४७ हजार मूल्य बराबरका स्कोरपियोदेखि साइकलसम्मका सवारी साधनहरू बरामद गरिएका छन् । त्यस्तै, दुई करोड ४८ लाख ४५ हजार ६५३ बराबरका अवैध किराना, कस्मेटिक, लत्ताकपडा तथा मोटर पाट्र्स पक्राउ परेका छन् ।

गत आवमा एक–एक थान स्कोरपियो र सफारी गाडी, बोलेरो, म्याजिक र अटोरिक्सा सहित १८० वटा मोटरसाइकल समेत बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाइएको छ ।

सशस्त्र प्रहरीले ४८ लाख १७ हजार ११० स्रोत नखुलेका रकम पनि बरामद गरेको छ भने भारतबाट आएको ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँसमेत नियन्त्रणमा लिएको छ ।

वन विभागलाई ६९३ क्युफिट काठ, रौतहट प्रहरीले पाँच लाख ५१ हजार ८२५ मूल्य बराबरका ४०६ कार्टुन मदिरा, ८५० किलोग्राम माछा, एक हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैंसी र पाडापाडी पनि बरामद गरेको छ ।

त्यस्तै, चार लाख तीन हजार ५६ मूल्य बराबरका पटकासमेत नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

रौतहट जिल्लाको दक्षिणी सीमा नाकामा पाँचवटा ‘बोर्डर आउटपोष्ट’ तथा आठवटा सुरक्षा बेस क्याम्प स्थापना गरी सशस्त्र प्रहरी बलले प्रभावकारी सुरक्षा कार्य गर्दै आएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।