पर्सा, २५ साउन । वीरगंज महानगरपालिकामा खानेपानी आपूर्तिका लागि गाडिएको डीप बोरिङमा व्यापक अनियमितता भएको आरोप एमालेबाट निर्वाचित वडाध्यक्षहरूले लगाएका छन् ।

जलसंकटको समयमा गरिएको काममा वडाध्यक्षहरूसँग कुनै समन्वय नगरी डीप बोरिङहरू गाडिएको र लगतसमेत उपलब्ध नगराइएको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको ध्यानाकर्षण गराएका छन् ।

आइतबार एमाले महानगर इन्चार्ज एवम् मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा आठ जना वडाध्यक्षहरूको टोलीले सीडीओ अर्यालयसँग भेटेर डीप बोरिङ सम्बन्धी खर्च र कामको विस्तृत विवरण माग गरेको छ ।

वडाध्यक्षहरूले दुई दिनभित्र सबै विवरण उपलब्ध गराउन माग गर्दै नभए पार्टीगत निर्णयअनुसार कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

टोलीका सदस्य रामकिशोर सिंह (पराग)ले भने, ‘सरकारी पैसा कार्यकर्ताको घर अगाडि खनिएको छ । वडाध्यक्षहरूलाई जानकारी नै नदिइ मनपरी काम भइरहेको छ । यसै कारण सीडीओको ध्यानाकर्षण गराउन बाध्य भयौं ।’

सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि संघीय तथा प्रदेशस्तरबाट धमाधम डीप बोरिङ गाड्ने काम भइरहेको छ । तर, यस क्रममा वडा कार्यालयसँग समन्वय नगरी मनमौजी ढंगले काम भएको आरोप उठेको छ ।

एमाले टोलीमा सुरेश साह कानु, रामकिशोर सिंह (पराग), प्रदीप चौरसिया, अवधकिशोर कुशवाहा, जितेन्द्र यादव, सञ्जु क्षतकुली, विजय कुर्मी र हिरा गिरीको समेत सहभागिता रहेको थियो ।