अकाशेपानीपछि मधेशमा धान रोपाइँमा वृद्धि

जनकपुरधाम, २४ साउन । मधेश प्रदेशको अधिकांश क्षेत्रमा लामो समयसम्म खडेरी र सुक्खाका कारण किसानहरूले धान रोप्न कठिनाइ भोगिरहेका थिए । तर, पछिल्लो साता परेको अकासे पानीले यो चिन्ता झनै कम गरेको छ ।
मधेश प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले भने, ‘साउन १६ गतेसम्म मधेशको ३ लाख ७२ हजार ६४५ हेक्टर मध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्र धान रोपाइँ भएको थियो । पछिल्लो सात दिनमा १९ दशमलव २७ हेक्टर थप क्षेत्रफलमा रोपाइँ भएको छ ।’
उनले थपे, ‘साउन २३ गतेसम्म आठ जिल्लामा कुल ७६ दशमलव ५४ प्रतिशत अर्थात २ लाख ८५ हजार २३४ हेक्टरमा धान रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहटमा ८५ दशमलव ९ प्रतिशत रोपाइँ भएको छ ।’
त्यस्तै, सर्लाहीमा ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरी र सिरहामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले भने, ‘अकाशेपानीका कारण पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । पानी परिरहँदा धान रोपाइँमा थप सहजता आउनेछ ।’
त्यस्तै, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले भने, ‘अकाशेपानीले कृषकहरूलाई धेरै राहत दिएको छ । धान नरोपिएको क्षेत्रहरूमा धमाधम रोपाइँ भइरहेको छ ।’
सर्लाहीका कृषि ज्ञान केन्द्र प्रमुख कमलदेवप्रसाद कुशवाहाले पनि अकाशेपानीले प्रभावकारी भूमिका खेलेको बताए । ‘खेतमा पानी नहुँदा धाँजा फुटिसकेको थियो, अब पानी परेपछि रोपो पल्ने आशा छ,’ उनले भने ।
मधेश प्रदेशका किसानहरूलाई लामो समयको सुक्खाले पीडित बनाएको थियो । यसअघिका खडेरीका दिनहरूमा खेतीबारीमा पानीको अभावले किसानलाई ठूलो चुनौती दिएको थियो । तर, अहिले परेको वर्षाले कृषकहरूको मनोबल बढाएको छ भने आगामी दिनमा राम्रो उत्पादनको अपेक्षा पनि गरिएको छ ।
सामान्यतया चैते धान रोपाइँ नै वर्षाको भरमा कृषिजन्य उपजको आधार मानिन्छ । मधेशका किसानहरूका लागि यो रोपाइँले आर्थिक समृद्धिका लागि नयाँ आशा जागृत गरेको छ ।
वर्षा राम्रो भए कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसका साथै बजारमा कृषिजन्य वस्तुको उपलब्धता र किसानहरूको आम्दानीमा समेत सुधार आउने विश्वास गरिएको छ ।
धेरै वर्षसम्म सुक्खाले थलिएका किसानका लागि यो वर्षा ठूलो वरदान सावित भएको छ भने प्रदेश सरकार र कृषिविभागले समेत वर्षा पानी व्यवस्थापन र सिंचाइ सुविधा विस्तार गर्न जोड दिइरहेका छन् । मधेश प्रदेशको मुख्य आर्थिक आधार मानिने कृषि क्षेत्रलाई यसरी वर्षाले राहत दिँदा किसानहरू उत्साहित बनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


