मधेशमा रासायनिक मलको अभावविरुद्ध आजपाको चेतावनी

बारा, २४ साउन । बाराका बेलहियामा सम्पन्न आम जनता पार्टी (आजपा)को बैठकमा मधेश प्रदेशमा रासायनिक मलको संकट र व्यापक कालोबजारीप्रति ध्यानाकर्षण गराइएको छ ।
प्रदेश अध्यक्ष उमेश कुशवाहाले किसानलाई मल उपलब्ध गराउन राज्य पूर्णरूपमा असक्षम रहेको भन्दै सरकारको आलोचना गरेका छन् ।
उनले भने, ‘सरकारले अनुदानमा डीएपी मलको मूल्य २४ सय रुपैयाँ तोकेको भए पनि सहकारी संस्थाहरू र डिलरहरू मिलेर खुलेआम ३४ सय रुपैयाँसम्म कालोबजारी गरिरहेका छन् । यसले किसानहरूलाई ठूलो मार लागेको छ । राज्यले यस विषयमा मौन बस्नुहुँदैन ।’
प्रसौनी गाउँपालिकाका इन्चार्ज गणेश रामको अध्यक्षतामा भएको छलफलले रासायनिक मलको अभाव र कालोबजारीले कृषिजन्य उत्पादनमा नकारात्मक असर पुर्याइरहेको ठहर गरेको छ ।
बैठकले दोषी डिलर र सहकारी संस्थाहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ भने अनुदानको नाममा भइरहेको ठगी रोक्न प्रभावकारी योजना लागू गर्न सुझाव दिएको छ ।
आजपाले मधेशका किसानलाई उचित मूल्यमा मल उपलब्ध गराउन र कृषिमा सहजता ल्याउन सरकारसँग विशेष ध्यान दिन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


