रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूमा झरेको आशाको वर्षा अब विपत्तिको वर्षामा परिणत भएको छ ।

फतुवा विजयपुर नगरपालिका–५ स्थित सन्तपुर दोस्तीया क्षेत्रमा आएको झिनो पानीले पनि करिब ४० बिगाहा धानबाली डुबानमा परेको हो ।

स्थानीय किसान अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर अन्सारी लगायतको खेतमा पानी थुप्रिँदा महिनौंको श्रम पानीमै बग्ने अवस्थामा पुगेको छ ।

पीडित किसान अमिर खान भन्छन्, ‘पहिले बाटोमा राखिएको ह्यूमपाइपबाट पानी निकास हुँदै आएको थियो । अहिले त्यो पाइप नै बन्द भएपछि खेतमा पानी थुनिएको हो ।’

डुबानको कारण कटहरिया–सन्तपुर–कलैया सडक खण्ड नजिकको सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फ रहेको बाटोको उत्तरतर्फको जमिनमा वर्षा पछिको पानी जम्मा भएको छ । जलनिकासको व्यवस्था नहुँदा डुबान खेतसम्म सीमित नरही बस्तीहरूमा पनि पस्न थालेको स्थानीयले बताएका छन् ।

स्थानीय एक बासिन्दाले भने, ‘रातभर पानीको डरले न निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो । अब झन् पानी परे घरमै पस्ने डर छ ।’

यसैबीच, वडाध्यक्ष एजाज अहमदले डुबान समस्याको समाधान गर्न सर्वदलीय छलफल प्रारम्भ भइसकेको जानकारी दिएका छन् । उनका अनुसार, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको उपस्थितिमा भएको बैठकले ठोस निर्णय गर्ने तयारी गरिएको छ ।

मनसुन सुरु भएपछि आएको निरन्तर वर्षाले एकातिर सुक्खाबाट पिल्सिएका किसानलाई केही राहत मिल्ने आशा दिएको थियो । तर, अर्कातिर त्यसै वर्षाले खेत डुबाएर धानबालीमा नोक्सानी पुर्याएको छ ।