चुरे विनाश नरोकिए मधेशमा खेती नै संकटमा पर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा, २२ साउन । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण नगरेसम्म मधेश प्रदेशको कृषि संकट गहिरिँदै जाने चेतावनी दिएका छन् ।
लहान नगरपालिका–६ र ७ मा निर्माण गरिएको बहुउद्देश्यीय व्यापारिक भवन उद्घाटन समारोहमा बोल्दै उनले जलवायु परिवर्तन र भूमिगत जल स्रोतको खस्किँदो अवस्थालाई चुरे क्षेत्रको दोहनसँग जोड्दै दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अपरिहार्य भएको बताए ।
‘समयमै वर्षा नहुनु, खडेरी, डुबान, सिँचाइको अभाव र भूमिगत जलस्तर घट्नु यी सबै चुरे क्षेत्रको विनाशकै परिणाम हुन्,’ सिंहले भने, ‘अब पनि हामीले गम्भीरता देखाएनौँ भने मधेशमा खेती गर्न सक्ने अवस्थै रहने छैन ।’
उनले चुरे संरक्षणलाई संघ, प्रदेश र स्थानीय सरकारको साझा एजेन्डा बनाउँदै व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा घोषणा गरिएको मधेशका लागि ५०० डिप बोरिङ परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको पनि जानकारी दिए ।
कृषकहरूका समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले मलखाद अभाव हुन नदिने, समयमै रोपाइँ हुने वातावरण बनाउने र सिँचाइका वैकल्पिक उपायमार्फत राहत दिने सरकारको योजना रहेको स्पष्ट पारे । ‘आउँदो वर्षदेखि किसानले समयमा रोपाइँ गर्न सकून् भन्नेगरी मन्त्रालय र विभागहरू तयारीमा लागिसकेका छन्,’ सिंहले भने ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले व्यापारिक भवनले नगरको आर्थिक गतिविधिमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै लहानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । नेपाली कांग्रेस सिरहाका सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादवले सिरहा जिल्लाका किसानहरू मलखाद, सिँचाइ र राहत सुविधाको अभावमा सङ्घर्ष गरिरहेको भन्दै सिंहको ध्यानाकर्षण गराए ।
एकीकृत शहरी भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्रप्रसाद साहका अनुसार ५० करोड ३६ लाख ६४ हजार रुपैयाँको स्वीकृत बजेटमध्ये हालसम्म २९ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ । बाँकी काम चाँडै सम्पन्न गरी अन्य उपयोगितामूलक योजना अघि बढाइने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


