जनकपुर विमानस्थलबाट रात्रिकालीन उडान स्थगित

जनकपुरधाम, २२ साउन । देशका विभिन्न आन्तरिक विमानस्थलहरूमा चरा र जंगली जनावरको गतिविधि तीव्र बनेसँगै हवाई उडान सुरक्षामा गम्भीर चुनौती देखा परेको छ ।
चराजन्य बर्ड स्ट्राइक र स्यालसँग जहाज ठोक्किने घटनाहरू दोहोरिन थालेपछि निजी वायुसेवा कम्पनी बुद्ध एयरले जनकपुरधामसहितका केही गन्तव्यमा रात्रिकालीन उडानहरू स्थगित गर्ने निर्णय गरेको छ ।
पछिल्लो एक महिनाको तथ्यांक अनुसार जनकपुर विमानस्थलमा मात्र सातपटक बर्ड स्ट्राइक र दुईपटक स्यालसँग जहाज ठोक्किएको घटना सार्वजनिक भएको छ ।
बुद्ध एयरका अनुसार १३, १८, २६, ३० जुलाई र ५ तथा ६ अगस्टमा जनकपुरमा चरासँग जहाज ठोक्किएको हो । विशेषगरी ३० जुलाई र ६ अगस्टका घटनामा बायाँ इन्जिनको प्रोपेलर क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ ।
यस्तै, २३ जुलाईमा धावनमार्गमा स्याल देखिएपछि जहाज काठमाडौं फर्कन बाध्य भएको थियो भने ५ जुलाईमा स्याल ठोक्किँदा विमानलाई आपतकालीन ब्रेक लगाएर नियन्त्रणमा ल्याइएको थियो । बिहीबार काठमाडौं–भद्रपुर उडानका क्रममा जहाजले धावनमार्ग पार गरेर अगाडि बढ्नुपरेको (ओभरसुट) घटना पनि सार्वजनिक भएको छ ।
बुद्ध एयरले उडान सुरक्षामा देखिएको संकटको मुख्य कारण वर्षायाममा धावनमार्ग वरपरको झाडी, लामो घाँस र कीराबाट आकर्षित चरा र जनावर भएको उल्लेख गरेको छ । कम्पनीका अनुसार, धावनमार्ग क्षेत्रको सरसफाइ र वातावरण व्यवस्थापनमा लापरबाहीका कारण जोखिम थपिएको हो ।
‘बर्ड स्ट्राइकपछि जहाजको मर्मत महँगो मात्र नभई समय खप्ने र उडान तालिका अवरुद्ध हुने समस्या निम्त्याउँछ,’ बुद्ध एयरले भनेको छ, ‘यसले यात्रु असन्तुष्टि पनि बढाउँछ ।’
बुद्ध एयरले विमानस्थल क्षेत्रमा सडेगलेका वस्तु, फोहोर वा सिनो नफाल्न स्थानीय प्रशासन र नागरिकलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याउँदै चराजन्य जोखिम नियन्त्रणका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ ।
कम्पनीले यस्ता समस्या बेलैमा सम्बोधन नभए देशभरका आन्तरिक हवाई सेवा नै संकटमा पर्ने चेतावनीसमेत दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


