जनकपुरधाम, २२ साउन । जनमत पार्टीले आफ्ना केन्द्रीय उपाध्यक्ष दिपक कुमार साहलाई पार्टी हित विपरीत कार्य गरेको आरोप लगाउँदै पार्टीबाट पूर्ण रूपमा निष्कासन गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले बिहीबार निर्णय गर्दै साहलाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट हटाएको हो ।

सुनसरीका नेता साहलाई यसअघि २०७९ चैत १४ गते अनुशासन उल्लंघन गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको थियो । निलम्बनसँगै पार्टीले १४ बुँदे सुधार सुझाव दिँदै कार्यशैली परिवर्तनको मौका दिएको थियो । तर, सो अवधिमा अपेक्षित सुधार नदेखिएको भन्दै पार्टीले उनलाई अन्ततः संगठनबाट पूर्ण रूपले अलग गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिको निर्णयअनुसार साहको गतिविधि पार्टी नीतिविपरीत मात्र नभई आन्तरिक एकता र मर्यादामा समेत बाधक भएको ठहर गरिएको छ ।